बागमती प्रदेशको क्रिकेट टिम हेर्ने जिम्मा पारसलाई
काठमाडौं,भदौ १४ । पारस खड्काले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशको क्रिकेट टिम हेर्ने भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारसलाई क्रिकेट खेलको प्राविधिक समितिको प्रमुखको जिम्मेवारी दिएको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार पारसले क्रिकेट खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन् । उनले प्रदेश प्रतियोगिताको आयोजना, सञ्चालन र छनोटमा प्रमुख भुमिका खेल्नेछन् । बागमतीले नवौं राष्ट्रिय खेलकुदमा क्रिकेट खेलमा स्वर्ण जित्ने लक्ष्य रहेको परिषद्ले जनाएको छ । सोही अनुसार प्रदेशले क्रिकेट खेलको सम्पुर्ण छनोटको जिम्मेवारी पारसलाई दिएको हो ।
बागमतीले सहभागी ३६ खेलको तालिका सार्वजनीक गर्दै संयोजक समेत तोकेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमतीले भदौ १३ गतेदेखि प्रदेश छनोट सुरु गरेर २४ गतेभित्र सक्ने तालिका बनाएको छ । तालिका अनुसार नै सोमबारदेखि लनटेनिस र बक्सिङको छनोट सुरु भैसकेको छ ।
बागमती प्रदेशले छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने र स्वर्ण पदक विजेतालाई दशौं राष्ट्रिय खेलकुदसम्म मासिक ६ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरिसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा बागमतीले पहिलो स्थान हासिल गर्ने लक्ष्य राखेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ ।