नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै
काठमाण्डौं,कार्तिक २९ । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाकिस्तानको टोली सँग सामना गर्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । घरेलु मैदानमा नेपाल करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई हराउने लक्ष्यमा रहेको छ ।
पाकिस्तानविरुद्धको खेलअघि मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताए । ‘पाकिस्तानले ७ खेल जितेको छ । नेपालले ५ खेल जितेका छौँ । तर, पाकिस्तानको राष्ट्रिय टिमले ३ वर्षबाट खेलेको छैन,’ प्रशिक्षक कटुवालले भने, ‘त्यसैले खेलाडीको मनोबल उच्च छ । हाम्रो जित्ने लक्ष्य छ ।’
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुत राम्रो टिम बनाएको बताए ।
‘छोटो समयमा थियो । खेलाडीमा फिटनेस समस्या थियो । तर, तयारी राम्रो भएको छ । नेपालमा रहेका खेलाडीबाट बलियो टिम बनाएको छु,’ कटुवालले थपे ।
प्रशिक्षक कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भएपनि लामो समय सँगै नखेलेको कारण टिम वर्क राम्रो नभएको कारण त्यहिँ अनुसार आफुले रणनीति बनाएको बताए ।
नेपालका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्दी भएपछि जित निकाल्नेमा सबै खेलाडीको मनोबल उच्च रहेको बताए ।
‘खेलका लागि हाम्रो उच्च मनोबलसहित तयारी छ । त्यहिँ अनुसार खेल्ने छौँ । पाकिस्तान कठिन प्रतिद्वन्दी हो । खेल्न गार्हो हुन्छ । शतप्रतिशत दिएर खेल्ने छौँ । नतिजा राम्रो हुन्छ,’ रोहितले भने ।
रोहितले कप्तानी पाउँदा आफुलाई खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठुलो कुरा रहेको समेत बताए ।