विकास सँगै विनास : अर्जुन भाट ( बिचार )
कञ्चनपुर,पुष २९ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरे पश्चात विकासका पुर्वाधारहरु जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार लगायत पक्षमा विकास तिव्र गतिमा भयो। जिल्लाका दुर्गम क्षेत्रमा सडक संजाल जोडिएका छन्। घर घरमा बिजुली बत्ती पुगिसकेको छ, विद्यालय भवन नहुँदा खुल्ला आकाशमुनि अध्ययन अध्यापन गराउने ठाउँमा ठुला-ठुला भवनहरू निर्माण भए। विकास निर्माण कार्यले जतिकै गति लियो त्यति नै विनास कार्य पनि सँगै सँगै अगाडि बढिरहेका छन्। पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढिपहिरोको जोखिम बढेको देखिन्छ । सडक विकासको माध्यम हो तर बिडम्बना ! यी सडकहरूले विकासभन्दा पहिला विनाश भित्र्याउँदै गरेको हिजोआजका बाढी पहिरोका घटनाले दर्शाउँछ ।
मानिसहरूले राजनितिक पहुचका आधारमा राता-रात विभिन्न भवन, कालो पत्रे सडक, सिँचाइ योजनाहरु केही नभए सामान्य कार्यक्रम भएपनि सरकारी बजेटको हिस्सा खोजेर काम गरेको त्यसैले लगानी अनुसारको सकारात्मक प्रतिफल दिएन।
गाउँ गाउँ सडक संजालले जोडिए तर गरिब, दु:खी तथा निमुखा जनताहरुको समस्यालाई प्राथमिकता कहिले पाएनन् र ध्यान दिइएन्।सुन्दरताले भरिपूर्ण पहाडका डाँडाकाँडा तथा कल कल बग्ने खोला ध्वस्त गरिने गरि सडक निर्माण गरिए। वातावरणीय प्रभावलाई अध्ययन नगरिकनै निर्माण गरिएका उक्त सडकले गर्दा पानी पिउन मन लाग्ने पानीका मुहान सुक्न थालेका छन्।
विकास निर्माण कार्यमा राजनीति नै प्रमुख कारण बनेको छ। सत्तामा पुग्ने दलहरु दिगो तथा गुणस्तरीय विकास भन्दा पनि कार्यकर्ता पाल्ने कार्यमा नै विकास बजेटलाई सदुपयोग गरेको देखिन्छ। पुर्वाधार विकास भयो, प्राकृतिक स्रोत साधन नष्ट गरियो तर मानिसको सोच बदलिएन। एक तहले गरेका काममा अर्को तहले सहयोग गर्नुको सट्टा विरोध तथा असहयोग गर्ने परिपाटीले गर्दा विकासले गति लिन सकेको छैन। जनचेतना मुलक कार्यक्रममा करोडौं रकम खर्च भएपनि मानिसहरूको सोचमा विकास हुन सकेको छैन। विकासका नाममा पार्टीका कार्यकर्ता पाल्ने कार्यक्रममा बढी खर्च भईरहेको छ। “गरिखाने भन्दा चरि खाने” ले राज्यबाट बढी सुविधा उपभोग गरेका छन्। कुनै पनि योजना तर्जुमा गर्दा जनसहभागिता साथै स्थानीय स्रोत साधनको सदुपयोग गरि समस्याको प्राथमिकिकरण गरेर योजना तर्जुमा गर्दा उचित विकास हुन्थ्यो तर त्यसो नभइ राजनीतिक पहुँचका आधारमा योजना छनौट गरिने परिपाटीले गर्दा दिगो तथा गुणस्तरीय विकास हुन सकेको छैन। जनताको सडकमा पहुँच पुगेता पनि रोजगारीको अभावमा गाडी चढ्ने पैसा नहुँदा “कागलाई बेल पाक्यो हर्ष न विष्मात” भने झै भएको छ। म र मेरो लागि भन्दापनि हामी र हाम्रो लागि भन्ने अवधारणाको विकास हुन जरुरी छ।