आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विभिन्न कार्यक्रमगरि मनाइदै

काठमाण्डौं,बैशाख १८ । आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विभिन्न कार्यक्रमगरि मनाइदैछ । यसै अवसरमा राष्ट्रपति,प्रधानमन्त्री र नेपाली काँगेसका सभापतिले शुभकामना संदेश ब्यक्त गर्नु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिनुभएको छ । श्रम अधिकार सुनिश्चितताको कामना गर्नुहुँदै उहाँले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उहाँले लिनुभएको छ ।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख गर्नु भएको छ ।

नेपाली  काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ ।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताउनुभएको छ ।

“नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ  ।

विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइले अनेक समस्याहरुलाई बेहोरिरहन परेको उल्लेख गर्नुभएको छ । उहाँहरुको समस्यालाई समाधान गरेर मजदुर वर्गको हक र हितको संवर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले उल्लेख गर्नुभएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv