चेतन कार्की : परिचयको प्रकोष्ठभित्र ~ प्रकाश सायमी ( लेख )
प्रकाश सायमी । चेतन कार्कीलाई धेरैले चिन्दा वा देख्दा एक सक्रिय सिनेकर्मीको रुपमा पहिला र पछि एक संस्कृतिकर्मीका रुपमा बढी देख्दछु । त्यति मात्र परिचयले धानिने व्यक्ति होइनन् ।
चेतन कार्की नेपाली समाजको एक विशिष्ट पात्र हुन् जसले समाजको अन्तरचेतना, अस्तित्वगत भावन बदल्नमा एक हिमायतीका रुपमा हरदम सक्रिय रहे ।
चेतन कार्कीको व्यक्तिगत रुपमा चर्चा गर्दा उनका जीवनका तीन पक्ष सदा सशक्त भए, फिल्मकार चेतन कार्की , गीतकार चेतन कार्की अनि संस्कृतिकर्मी चेतन कार्की । यहाँ पहिलो चर्चा गीतकार चेतन कार्कीको गरुँ ।
गीतकार चेतन कार्की
चेतन कार्की गीतकारका रुपमा रेडियो नेपालमा २०१८ सालमा प्रवेश गरे भने विसं २०२७ मा उनी चलचित्रका गीतकार भए , परिवर्तन नामक् चलचित्र मार्फत् । त्यतिवेला नेपाली चलचित्रमा किरण खरेल, मबीवि शाह, प्रदीप रिमाल र पुष्प नेपालीले मात्र गीत लेखेका थिए । गीतकारका हैसियतले चेतन कार्कीलाई नारायणगोपाल गुरुवाचार्य , मीरा राणा र तारादेवीले गाएका थिए तर चर्चाका हिसाबले कार्कीलाई नारायणगोपालले फिल्ममा गाएको पहिलो गीत बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखाले… व्यापक चिनायो ।
यसपछि कार्कीले नेपाली कथानक चलचित्र कान्छी , मायाप्रीति, पहिलो प्रेम , विश्वास , भुँवरी, राँको , कन्यादान, चित्कार आदिमा एकसेएक गीत लेखे । कार्कीका प्रायः जीवन, प्रेम र उत्साहका चर्चा हुन्छन् तर मिहिनरुपमा हेर्दा उनी जीवनमा दर्शन र जागरणको कुरा गर्ने एक साधक हुन् ।
आफ्नै निर्देशनमा बनेको पहिलो फिल्म विश्वास मा उनले लेखेका गीतमा तन्मयता अनि बेफिक्र जिन्दगीका दावाहरु छन् । उनले गीतमा आफूलाई र आफ्ना अनुभवलाई खूब न्यायपूर्वक राखेका छन् , जिन्दगी एउटा खेल हो साथी भन्ने गीत होस् वा अंगअंगमा तरंग त्यस्तै पृथक धारका गीत हुन् ।
भुमरी मा उनले गोपाल योञ्जनको संगीतमा उत्कृष्टताको पहिचान दिँदै पिरतीको चलन यो … , न रुन्थे आँखा मेरा .. गीतमा दमनीयताको स्वभावमा आफूलाई कुशलतापूर्वक प्रस्तुत गरेका छन् ।
उनी कुनै पनि गीतमा मिटरले नापेर गीत लेख्दैनथिए , उनी गीतको भावकथन , काल्पनिकीका विषयमा उनी आफैँ स्वरचित विषयमा गीत लेख्थे । यसर्थमा उनले कान्छी मा छोरीको जन्म हारेको कर्म , ई ओंठ तिम्रा … जस्ता भावप्रवणशील गीत लेखे ।
एक शक्तिशाली गीतकारका रुपमा उनले नेपाली चलचित्रका अत्यन्त अनुभवी निर्देशक बीएस थापा , हिरा सिंह खत्री , प्रकाश थापाका प्रायः सबै फिल्ममा गीत लेखेर सहकार्य गरे , यो एक उदाहरणीय पक्ष हो ।
शाही नेपाल चलचित्र संस्थानमा सँगै काम गर्दाका सहकर्मी प्रकाश थापासित लामो र घनिष्ठ परिचय भएपनि उनीसित एउटै फिल्ममा मात्र काम गरे , कन्यादान मा ।
कन्यादान मा कार्कीले नजाऊ न मलाई छोडी …, तीजको रहर आयो बरी लै .. जस्ता कालजयी गीत लेखे । यी दुवै गीत नै यो चलचित्रको प्राण मानिन्छ । यस वाहेक यही चलचित्रमा उनले एउटा बाल सन्देशमूलक गीत पनि लेखेका छन् । गीतमा हरेक उमेर, समय र तप्काका गीत लेख्न सक्ने कार्की नेपालका धेरै गीतकारहरु मध्ये आफ्नै स्टाइलाइजेशन भएका एक स्रष्टा हुन् ।
गीतकार रुपमा उनी भारतका प्रसिद्ध गीतकार ( विशेषतः फिल्मी गीतमा) राजेन्द्रकिशनका फ्यान हुन् । किशनका प्रायः गीत उनलाई कन्ठस्थै हुन्थे । किशन वाहेक उनलाई साहिर , शैलेन्द्र पनि खूब मनपर्थे । गालिब र मीरका गजलमा उनका धेरै रुचि देखिन्थ्यो ।
काठमान्डू उपत्यकामा मनाइने गालिबको हरेक जन्मजयन्तीमा उनी सरिक हुन्थे र गालिबको समग्रतामा उनी धाराप्रवाह हुन सक्थे ।
सौन्दर्यस्तुति र सहमतिमा गीत लेख्ने गीतकार कार्की ले आफू पछिका पुस्ताका फिल्म निर्देशकहरुका निम्ति गीत लेखका छन् त्यसमध्ये किशोरा राना, कृष्णराज पाण्डेय, रमेश थापा प्रमुख हुन् ।
निजी अल्बमका गीतहरुका प्रसंगमा उनले संगीतकार शुभवहादुर सुनाम , दिव्य खालिँग , शीलवहादुर मोक्तान , बसन्त सापकोटा , प्रवीण बराइली आदिका संगीतमा धेरै गीत लेखेका छन् ।
गायक बसन्त खड्का, बिधान श्रेष्ठ, शैलेश सिंह, राज सागर , गायिका रश्मी अमात्य , लासिमीत राइ, सबीना कार्कीले उनका गीतहरु उनको जीवनकालमै आफ्ना निजी अल्बममा संगृहीत गरेका छन् ।
फिल्मकार चेतन कार्की
नेपालबाट बनेको चौथो फिल्म परिवर्तन मा हिरा सिंह खत्रीको सहायक निर्देशक भएर चलचित्र जगतमा प्रवेश गरेका कार्कीले शाही नेपाल चलचित्र संस्थानबाट बनेका चलचित्रहरु मनको बाँध, कुमारी , सिन्दूर , जीवन रेखा मा प्रोडक्शट कन्टेलर भएर काम गरे । प्रकाश थापा निदेर्शित सिन्दूर र जीवन रेखा दुवै चलचित्रमा उनले सम्वाद्लेखकका रुपमा उपस्थिति जनाए ।
दौलतविक्रम विष्टको कथा जब बादल फाट्छ मा बनेको सिन्दूर का सम्वाद् नेपाली चलचित्र इतिहासको लोकप्रिय संवाद् मानिन्छ । यस फिल्ममा नीर शाह, हरिहर शर्मा , शान्ति मास्केका संवाद् खूब चर्चित भएका थिए । सिंदूर पछि उनले केशवराज पिंडालीको उपन्यास अन्त्य देखि शुरु नामक् उपन्यासमा आधारित जीवनरेखा मा सुपर हिट डायलगहरु लेखे । मास्टर केशव , अर्जुनजंग शाही , शान्ति मास्केका संवादहरु यस चलचित्रमा अत्यन्त लोकप्रिय भएका थिए । प्रकाश थापाका प्रायः फिल्मलाई संवादले सिँगार्ने कार्कीले पछिल्लो समयमा गीत पनि लेखे ।
कार्कीले नेपाली चलचित्रमा गीत लेखन, संवाद् लेखन अनि निर्माण योजकको भूमिका पछि आफैँ स्वतन्त्र रुपमा फिल्म निर्देशकको जिम्मेवारी लिए । आरती फिल्म्सको पहिलो चलचित्र विश्वास मार्फत् । विश्वास चेतन कार्कीको आफ्नै कथा पटकथा र संवाद अनि निर्देशनमा बनेको थियो ।
विश्वास फिल्ममा आफ्नो निर्देशन टोलीमा सहायकका रुपमा महिला सहायक निर्देशकका रुपमा मीना श्रेष्ठलाई भित्र्याएका थिए । विश्वास पछि उनले भुँवरी को निर्देशन गरे । भुँवरीमा उनले अर्जुनजंग शाही , मौसमी मल्लका साथ नया कलाकार श्रीकृष्ण श्रेष्ठलाई पनि पर्दामा ल्याएका थिए ।
यसपछि उनले तेस्रो फिल्म पहिलो प्रेम निर्देशन गरे । यस चलचित्रमा उनले रवीन्द्र खड्का , करिश्मा केसी का साथ नयाँ नायक धीरेन शाक्यलाई पर्दामा ल्याए । यही चलचित्रमा उनले गोपाल योञ्जनकी छोरी सृजना योञ्जनलाई पनि पर्दामा ल्याएका थिए तर योञ्जनले छायाँकन भएकोे शुरुवातमै काम गर्न सकिनन् । ठूला पर्दाका यी तीन चलचित्र निर्देशन गरेका चेतन कार्कीले नेपाली रजतपटमा धेरै स्थापित नभएका कलाकारलाई पर्दामा नयाँ रुप दिने काम गरे ।
संस्कृतिकर्मी चेतन कार्की
गीतकार , फिल्म निर्देशक जस्तै कार्कीको जीवनमा छुटाउनै नहुने एक विशेष पाटो हो , संस्कृतिकर्मीको ।
गीत संगीत अनि वाद्यवादनको हरेक विषयको छुटाछुटै ज्ञान भएका कार्की नेपाली र भारतीय कला साहित्यका ज्ञाता थिए । नेपालका पूर्व पश्चिम सबैतिरको लोक गीत संगीत अनि नृत्यको गहिरो ज्ञान राख्ने कार्कीले हिमाली सांस्कृतिक परिवारमा हरेक वर्ष दिने प्रवचनीय मन्तव्य सदैव सम्मानपूर्वक सुन्नुपर्ने देखिन्छ ।
हिमाली सांस्कृतिक परिवार हार्मोनी द मोडर्न संग्सट्रेस अफ पोखरा मा वाहेक काठमान्डूमा शुभारम्भ द म्युजिक जर्नी , आस्था कला केन्द्र , नारायणगोपाल संगीत कोश मा उनको उपस्थितिले गीत संगीत र साहित्य संस्कृतिका वारे दिने शोधपरक विचार अनि संग्रहणीय मन्तब्यले नेपाली कला समाज धनधान्य भएको देखिन्छ ।
मारुनी , सोरठी होस् वा जनकपुरको जटजटनीको नाचको कुरा होस् । च्याब्रुँग वा घिन्ताँग किसीका प्रसंग होस् सबै कला र कलाको अनुकृति वारे निष्पक्ष विचार राख्ने कार्कीले आफ्ना समकालीन रामशरण दर्नाल, चतुर्भुज आशावादी , तेजेश्वरबाबु ग्वँगः वा आफ्ना अग्रज सत्यमोहन जोशीसित एक सहमत भावमा कला संस्कृतिको सेवा गर्दै आए ।
नेपाली गीत संगीतमा पश्चिमको रोइलो भाका होस् वा स्याँग्जाको आँधीखोले भाखालाई संपृक्त बनाउनमा उनले गहन काम गरे । उनका गीतमा पाइने नूतननवीनतम शब्द पनि नेपाली लोकजीवनकै एक लब्धि हो भन्दा फरक नपर्ला ।
उनले आफ्नो नाटक आत्म बेचेको छैन मा गायकका रुपमा परिचित गराएका झलकमान गन्धर्वको प्रस्तुति नै नेपाली लोकसंगीतको महतम पुरस्कार हुन गयो । झलकमान वाहेक उनले गायिका मीरा राणा , नृत्यकलाकार विमला श्रेष्ठ, अभिनेता रत्नदास प्रकाश अनि लोक कवि अलि मियाँलाई उज्यालोमा ल्याउने जुन काम गरे त्यो स्तुत्य छ । लोककवि अलि मियाँलाई जगदम्बाश्री दिलाउनमा उनले खेलेको समर्थकको भूमिका शब्दातीत छ ।
अन्त्यमा
जुद्धबहादुर कार्कीका माइला छोराका रुपमा जन्मेका कार्कीको पूरा चेतबहादुर कार्की हो , परिवारमा उनलाई साने भनेर बोलाइने गथ्र्यो । सानेका गाउँछिमेकमा थरिथरिका साथीभाइ भएपनि कला क्षेत्रमा उनका फरक फरक साथी थिए । रेडियो नेपालमा लोकगीत गाउँदा चिनेको शेखर मानन्धरलाई उनी आफ्ना गडफादर मान्थे । कवि भूपी शेरचनसित उनको याराना धेरै पुरानो हो तर भूपीसित उनलाई चिनाइदिने चिनी कारखानाका हाकिम भूमिप्रसाद शर्मालाई उनी सहयात्री भन्थे । लोकगीत संकलनको क्रममा निकट भएका महेन्द्रप्रसाद खनाल र कामको सिलसिलामा आफन्त भएका रोहित थापासित उनको दोस्तीको सम्बन्ध अलि अलि रह्यो ।
गीतकार नगेन्द्र थापालाई उनी ज्वाइँसाहब भन्थे भनें कलाकार हरिहर शर्मालाई उनी जेठान भन्थे ।
गीतकार रामविक्रम सिजापतिलाई उनी सम्धि साहब भन्थे जीवन रहुन्जेल उनले हिमाली सांस्कृतिक परिवारका संस्थापक नरवहादुर शेरचनलाई दाइ नै भने ।
कला जगतका धेरै कलाकारलाई उनी छोरा छोरी नाति नातिनाको व्यवहार गर्थे र खुलेर सबैलाई भेटको वेला आशिर्वाद दिन्थे ।
देहरादूनमा पले बढेका कार्कीको खेलमा फुटबल मनपर्ने खेल थियो र यो खेलमा उनले राम्रै पौरख देखाएका थिए । खेल कला संस्कृति र सिनेमाका ज्ञाता कार्कीलाई नेपालका पहिलो रक गायक माइक खड्काले महामहिम उपनाम दिएका थिए । र, उनले महामहिम चेतन कार्की भनेरै सम्बोधन गरे ।
प्रसिद्ध गजलकार प्रा डा सनतकुमार वस्तिले कार्कीलाई चेतन चचा भनेर नयाँ नाम दिए , यो नाम पहिले उर्दूका महाकवि गालिबले पाएका थिए भने पछि हिन्दुस्तानका पहिलो प्रधानमन्त्री पं जवाहरलाल नेहरुलाई दिइएको पाइन्छ । प्रा डा वस्तिले चेतन चचा भन्न थाले पछि गजलकारहरुको वृहत घेरामा उनलाई उर्दू अकादमीका सदर इम्तियाज वफा, मोमिन खाँ , डा काशिराज न्यौपाने , डा सुबोध रेग्मी सबैले चेतन चचा नै भन्न थाले ।
सर्वान्तमा एउटा चर्चामा नआएको गोप्य कुराबाट यो लेख टुँग्याउँ ,
नेपालमा बनेको पहिलो नेपाल संगीत नाटक एकेडेमीको पदाधिकारी सिफारिश कमिटीमा उनी नभए पनि ती सबै नाम सिफारिश गर्नेमा कार्की नै थिए , उनले तैयार पारिदिएको सूचि मार्फत् चयन कमिटीले यो नाम सरकारमा बुझाएको थियो र यसरी नै अम्बर गुरुँगको कुलपतित्वमा यो कपिटी बनेको हो । यो कुरा सिफारिश चयन समितिका संयोजकले पछिल्लो एक भेटमा पंक्तिकारलाई बताउनु भएको स्मरणीय छ ।
फुटबलर, फिल्म निर्देशक , नाटककार , उपन्यासकार, लोक गायक अनि गीतकार कार्कीको दोस्रो पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली सहित यो लेख प्रस्तुत छ ।