प्रधानमन्त्रीको भारत भ्रमणमा सुदूरपश्चिमका यी दुई एजेन्डा समावेश हुने
काठमाण्डौं,जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधवार भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणको तालिका शनिवार सार्वजनिक भएको हो। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्ने बताएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेठ १८ मा दिल्लीस्थित हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तयारी छ ।
भ्रमणमा सुदूरपश्चिमका दुई एजेन्डा समावेश भएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी तथा भैरहवा र महेन्द्रनगरबाट दुईतर्फी हवाई रुट उपलब्धताको एजेन्डा समावेश गरिएको हो।