प्राकृतिक चिकित्सालाई प्रवर्दन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री बस्नेत
काठमाण्डौं,असार २१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा आयोजित राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा उनले सो कुरा बताएका हुन्।
“प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय र विभागसँगको समन्वयनबाट यस क्षेत्रका तागतलाई एकीकृत गरी उपलब्धिमूलक बनाउनु आवश्यक छ, जसको पूर्ण समर्थनमा मन्त्रालय रहेको छ”, मन्त्री बस्नेतले भने।
प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सकेमा आर्थिक लाभ, पर्यटन प्रवद्र्धन लगायतका बहुआयामिक फाइदा रहेकाले यस पद्धतिलाई सशक्त बनाउन सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने र यसमा सरकारको पनि सहयोग रहने मन्त्री बस्नेतको भनाइ थियो ।
विभागमा प्राकृतिक चिकित्सकको व्यवस्थाका लागि तत्काल एकजना आठौँ तहको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिँदै उनले यो क्षेत्रमा थप जनशक्तिको व्यवस्था गर्दै जाने बताए।