‘कांग्रेस माओवादीको झिँगा धपाउँदै हिँडेको छ’ – एमाले प्रमुख सचेतक गिरी
काठमाडौं, ४ साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले देशमा राजनीतिक स्थायित्व दिने, स्थिर सरकार दिएर देशलाई एउटा लयमा फर्काउने र जनतामा आशा भर्ने दायित्व एमाले र कांग्रेसको भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले कांग्रेस र एमालेलाई विश्वास गरेर भारी मतका साथ ठूलो पार्टी बनाएकाले जनभावना अनुसार काम गर्नका लागि दुई पार्टी मिलेर सरकार गठन गर्नुको विकल्प नरहेको बताएका हुन् ।
‘मैले बारम्बार भन्दै आएको छु, यो देशमा ठूला राजनीतिक पार्टीहरु नेकपा (एमाले) र नेपाली कांग्रेस जसलाई नेपाली जनताले विश्वास गरेर भारी मत दिएर ठूला पार्टी बनाएर पठाए । यति ठूलो संकटबाट देश जुग्रेको बेलामा यी ठूला पार्टी आपसमा मिलेर देशमा राजनीतिक स्थायित्व दिने र स्थिर सरकार दिएर देशलाई एउटा लयमा फर्काउने र जनतामा आशा भर्ने दायित्व यी दुईवटा पार्टीको हो,’– उनले भने ।
कांग्रेस जनमत नभएको, जनताबाट अलग भएको र जनताले तिरस्कार गरेको राजनीतिक पार्टीको पछि लागेको उनको आरोप छ । कांग्रेसले भोलिका दिनमा माओवादीसँग पछि लागेर सरकारमा सहभागी हुनुको ठूलो मूल्य चुकाउन पर्ने उनको दाबी छ । ‘दुर्भाग्य जनमत नभएको पार्टी, जनताबाट अलग भएको पार्टी, जनताले तिरस्कार गरेको राजनीतिक पार्टीको नेतृत्वमा सरकार बन्छ र कांग्रेसजस्तो पार्टी पछि–पछि झिँगा धपाउँदै हिँड्छ भने हामीले के भनौं ?’– उनले प्रश्न गरे ।
कांग्रेस–एमालेको सरकार बनाउन धैरै ढिला भइसकेको उनको निष्कर्ष छ । केपी शर्मा ओली र शेरबहादुर देउवा देश र जनताको भलाईका निम्ति कुनै आग्रह पूर्वाग्रह नराखी एक ठाउँमा उभिनु आजको आवश्यकता भएको उनले बताए । ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउन धेरै ढिला भइसक्यो । केपी शर्मा ओली र शेरबहादुर देउवालाई साच्चै देशप्रतिको माया छ भने उहाँहरु छिटोभन्दा छिटो एक ठाउँमा उभिएर, कुनै आग्रह, पूर्वाग्रह नराखी देश र जनताको निम्ति उहाँहरु एक ठाउँ उभिन पर्छ,’– उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा देशको स्वाधीनताबारे बोल्नसक्ने कुनै आँट नरहेको उनको आरोप छ । विदेशी शक्तिहरुसँग प्रधानमन्त्री प्रचण्ड डराएको उनको आरोप छ । ‘उहाँ (प्रचण्ड) हरेक ठाउँमा चुकिसक्नु भयो । देशको स्वाधीनताका लागि बोल्नसक्ने कुनै आँट छैन । उहाँको ठाउकोमाथि तरबार झुण्ड्याइएको छ । हामी सबैले बुझेका छौं, युद्धकालमा उहाँले गरेका जुन अपराधहरु छन्, त्यो चाहिँ आज अन्तराष्ट्रिय समुदायले उहाँको टाउकोमाथि तरबार झुण्ड्याएको छ । हामीले भनेको भन्दा दायाँबायाँ गर्नुभयो भने यो तरबार तपाईँको टाउकोमा बज्रिन्छ भनिएको छ । उहाँलाई त्यो भूतले खाइराखेको छ । नेपाली नागरिकले मलाई प्रधानमन्त्री बनाएको हो, म नेपाली जनताको लागि काम गर्छ भन्नसक्ने उहाँमा हिम्मत नै छैन,’– उनले भने ।