एम सी सी बिरुद्द लाग्न विप्लब ले राखे अन्तरक्रिया कार्यक्रम
काठमाण्डौं,भदौ ११ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा रहेको उक्त पार्टीले आज अन्तरक्रियाको आयोजना गरेको हो ।
पार्टीको प्रकाशन तथा सूचना सञ्चार विभागका इन्चार्ज अनिल विरहीका अनुसार अन्तरक्रिया कार्यक्रम आज मध्यान्ह साढे १२ बजे राष्ट्रिय नाचघरमा राखिएको छ ।
विप्लव नेतृत्वको पार्टीले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्बोधन नगरी, प्रतिक्रिया नदिई जबरजस्ती एमसीसी परियोजना लागू गर्ने संयुक्त राज्य अमेरिकाको बलमिच्याईं र सरकार लत्रिदै गएको सन्दर्भमा जनमत बनाउने र नेपाल सरकार तथा एमसीसी परियोजनालाई दबाब दिने उद्धेश्यले ‘एमसीसी परियोजना विरुद्ध वृहत अन्तरक्रिया’ शिर्षकमा आजको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रमको वक्ताहरुमा पार्टीका महासचिव विप्लव, नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले)का नेता भीमबहादुर रावल, पूर्वन्यायाधिवक्ता युवराज संग्रौला, क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र वास्तोला, नेपाली सेनाका पूर्व जनरल प्रेमसिंह बस्न्यात र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी रहेका छन् ।