भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग

काठमाडौँ, भदौ १८ गते । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गरे । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गरेका हुन् ।

साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्दै उनले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिए । नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व भने घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्ने सांसद केसीको माग छ । पासाल्हामु राजमार्गको काठमाडौँबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उनले आपत्ति जनाए ।

सांसद विद्या भट्टराईले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको, लैङ्गिक हिंसाले आत्महत्याका घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । प्रजनन उमेरमा महिलाको आत्महत्याको दर बढेकाले विद्यालयतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम राख्न र यसलाई प्राथमिकता दिएर काम गर्न उनले माग गरे ।

सांसद माधव सापकोटाले तातोपानी नाकाको लिपिङ बजारस्थित सरकारी कार्यालयको जग्गा निजीरुपमा कब्जा गरिएकाले तत्काल व्यवस्थापन गर्न माग गरे । तत्काल यसको व्यवस्थापन नगरिएमा पछि यो ठूलो समस्या हुने भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । मानसरोवर तीर्थयात्रा गर्ने धार्मिक पर्यटकका लागि तातोपानी नाका अन्य नाकाभन्दा तीन दिन नजिकपर्ने भएकाले पनि यहाँ सरकारले प्राथमिकता दिनुपर्ने सांसद सापकोटाको भनाइ थियो ।

सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई तलबको व्यवस्था गर्नुपर्ने भन्दै खेल पूर्वाधारको विकासका लागि खेलजगतलाई उपेक्षा गर्न नहुनेमा जोड दिए । प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरेका रकम अझै नदिएकाले त्यसतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv