एलए पौडी सुरु
ललितपुर,भदौ ३० गते । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा २० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै खेलकुदको जग भनेकै विद्यालय खेलकुद भएकोले सबै विद्यालयले खेलकुदलाई उच्च प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गरे ।
प्रतियोगितामा ७८ विद्यालयका ३ सय ८९ खेलाडीको सहभागिता रहेको एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । प्रतियोगितामा ५० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पहिलो दिन २५ स्पर्धाको फाइनल सम्पन्न भयो । प्रतियोगिताको अन्तिम दिन आइतबार पनि २५ स्पर्धाको फाइनल हुनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजकको पौडी पोखरीमा भइरहेको छ । गत संस्करणकमा निसर्ग वाटिका टिम च्याम्पियन बनेको थियो ।
आशिषको बिदाइ
एलएले पौडी प्रतियोगिताको उद्घाटन समारोहमा २० औं एसियाली कराते च्याम्पिन्सिपमा सहभागी हुने आफ्नो विद्यार्थी खेलाडी आशिष श्रेष्ठलाई बिदाइ गरेको छ । प्रतियोगिता चीनको हाङझावमा सेप्टेम्बर १७ देखि २२ गतेसम्म हुँदै छ ।
आशिष भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका स्वर्ण र रजत विजेता हुन् । काठमाडौंमा भएको सोही प्रतियोगिताको सातौं संस्करणमा उनले रजत जितेका थिए । ५५ औं र ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए ।
उनलाई खेलकुद मन्त्री चौधरी र लिटिल एन्जल्सका संस्थापक अध्यक्ष उमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बूलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे ।