नेपालमा दूतावास स्थापनाकालागि क्यानडा सरकारलाई परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाण्डौं,असोज ३ गते । परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरेकी छन् । बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले उक्त आग्रह गरेकी हुन् ।

‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ’, उनले भनिन, ‘त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’

द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् ।

त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी उनले गराइन् ।
दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv