साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेश च्याम्पियन
काठमाण्डौं, कार्तिक १४ गते । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा मात्र एक गोल फर्काइन् ।
बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक-एक प्रहार बारमा लागेको थियो ।
पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो ।
गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कंदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् ।
अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् । ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् ।
उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरे पनि असफल भइन् ।
विजेता टिम तथा खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेप सदस्यसचिव टंकलाल घिसिङ, साफ उपाध्यक्ष सुन्दरनरसिंह जोशी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले पुरस्कार प्रदान गरे ।