ओमानका अनुभवी खेलाडी मक्सूद कर्णाली याक्समा अनुबन्ध
काठमाडौं,मङ्सिर ९ गते । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ । आइतबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३७ वर्षीय अनुभवी अलराउन्डरलाई टोलीमा समावेश गरेको हो ।
बाँया हाते ब्याटर मक्सूद कर्णाली याक्समा अनुबन्ध हुने पाँचौ खेलाडी हुन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् । त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ ।
प्रशिक्षक मल्लले अलराउन्डर मक्सूदको आगमनसँगै टोलीको ब्याटिङ र बलिङ बलियो हुने बताए । ‘मक्सुद अनभुवी ब्याटर र बलर हुन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ लाइन बलियो हुने आशा छ ।’
मक्सूदले पनि नेपाल प्रिमियर लिग खेल्न आफू उत्साहित रहेको बताएका छन् । उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी२० खेलमा १३६९ रन बनाएका छन् । त्यस्तै, बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन् ।