भ्रमपुर्ण समाचार प्रसारण गरेको भन्दै प्रेस काउन्सिलले गर्‍यो कारवाही

काठमाडौं,मङ्सिर १० गते । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारवाही गरेको छ । तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।

काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामाग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिइ प्रकाशन÷प्रसारण गर्ने युट्युबमाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

यही मंसिर ४ गते यस्तै खालका ९ युट्युव च्यानल र पेजलाई काउन्सिलले कारवाही गरेको थियो । सोमबार विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एसोसिएसन र हट न्युज नेपाल नामक युट्युव च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको हो । अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामाग्री हटाइ, उक्त सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेस गर्न काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलको अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट आम मानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास फैलाउने, घृणा तथा द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्ति/भनाइलाई प्राथमिकताका साथ स्थान दिइ सम्प्रेषित  सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको उल्लेख छ ।

‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ’, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्वद्ध सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv