पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरसहित ६ संगठनको समर्थन रमेश विष्टलाई
काठमाण्डौं,मङ्सिर २३ गते । नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।
प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिंदै विष्टलाई समर्थन गरेका हुन् । नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिए पछि असन्तुष्टि जनाउँदै विष्टले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए । उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिएका थिए ।
यस घटनाले नेपाल पत्रकार महासँघकाे सभापतिमा प्रेस युनियन र प्रेस चाैतारीद्वारा संयुक्त रूपमा उम्मेदवार बनाइएकी निर्मला शर्मालाई बढी अप्ठेराे पर्ने चर्चा पनि सुरू भएकाे छ । नेपाल पत्रकार महासंघकाे इतिहासमा कांग्रेसका विद्राेही उम्मेदवारले निर्वाचन जितेकाे रेकर्ड पनि रहेकाे छ ।