सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा
काठमाडौं, मंसिर २६ गते । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन। उनले विष्णु प्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे।
रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरू भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे। रमेश अधिकारी र दिनेश प्रजापतिले १-ओभर ६९ को स्कोर निकाले। उनीहरू सातौं स्थान रहेका छन।
यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्त राज गुरूङ तथा एमेच्योरद्वय ज्ञान बहादुर ढेङ्गा र राहुल विके पहिलो दिन संयुक्तरुपमा नवौं स्थानमा रहे।
रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए। उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे।
विष्णुले पहिलो र सातौं होलमा एक-एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि ११औं होलको बोगी विरूद्ध १२औं र १३औं होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे।
डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ खेले। यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे।
एमेच्योर सदभावले सुरूवात राम्रो गर्न सकेनन। पहिलो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो, पाँचौं, छैटौं र नबौं होलमा एक-एक सट खेर फाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे। तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे। १०औं, ११औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। योसँगै उनले ब्याक नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे। यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन। उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागीता रहेको छ। कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।