भारतीय मालवाहक गाडी चेकजाँच नगर्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाण्डौं, असार २ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल आउने मालवाहक सवारी चेकजाँच नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

ट्राफिक प्रहरीले भारतीय सवारीलाई चेकजाँच गरेको, रोकेको, अनावश्यक दुःख दिएको लिखित तथा मौखिक गुनासो आएको भन्दै थापाले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन्। यो निर्देशन तराईका २२ जिल्लामा लागू हुने गृह मन्त्रालयले जनाएको छ।

गत वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन जाँच गर्ने, भारवहन क्षमता परीक्षण गर्ने काम प्रहरीले गरिरहेको उल्लेख गर्दै सो काम सम्बद्ध निकायलाई नै गर्न निर्देशन दिइएको छ। यो निर्णय कार्यान्वयन गर्न जेठ २ गते गृहले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी मुख्यालयलाई पत्राचार गरेको छ।

गृहको पत्रमा नियामक निकायको अनुमति र समन्वयबेगर भारतीय सवारी नरोक्न निर्देशन दिइएको छ। गृहको पत्रमा तेस्रो देशबाट नेपाल भित्रिने ठूला मालवाहक ट्रक र कन्टेनरबारे केही पनि उल्लेख गरिएको छैन।

गृह मन्त्रालयले प्रहरीले क्षेत्राधिकारबाहिर काम गरिरहेकाले यस्तो निर्देशन दिनु परेको जनायो।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले प्रहरीको काम मालवाहक सवारी रोक्ने नभएकाले गृहले क्षेत्राधिकारबाहिर काम नगर्न निर्देशनमात्र दिइएको बताए।

भारतबाट आउने सवारीलाई सशस्त्र प्रहरीले भन्सारमा जाँच गर्दै आएको छ।

नेपाल प्रहरीले प्रज्ञापन पत्र र जाँचपास हुँदा चेकजाँच गर्दै आएको छ। नक्कली प्रज्ञापन पत्र बनाई भन्सार जाँचपास व्यापक हुने गरेको भन्दै प्रहरीले चेकजाँच गर्ने गरेको छ।

सडकको भारवहन क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोक्दै सडकमै कारबाही गर्दै आएको छ।

प्रवक्ता सुवेदीले भारक्षमता मापन गर्ने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र तस्करी नियन्त्रण गर्ने काम अर्थ मन्त्रालयको भएकाले गृहले त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए।

‘प्रहरीले तस्करी हुन्छ भनेर गाडी रोक्ने हैन, अर्थ मन्त्रालय र भन्सार विभागले गर्ने हो,’ उनले भने, ‘सडकको भारक्षमता जाँच्ने काम ट्राफिक प्रहरीको हैन।’

गृहले अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने यसबारे कुनै जानकारी गराएको छैन।

प्रवक्ता सुवेदीले भने दुबै मन्त्रालयलाई बोधार्थ लेखिएको दाबी गरे। पत्रमा ती मन्त्रालयलाई बोधार्थ लेखिएको छैन।

‘पत्रमा छुटेको होला तर छुटेको भए हामी लेखेर पठाउँछौं,’ उनले भने।

सुवेदीले सम्बन्धित निकायको कार्यक्षेत्रमा नजान प्रहरीलाई निर्देशनमात्र दिइएको बताए।

गृहको पत्रमा भनिएको छ, ‘बाटोमा ट्राफिक प्रहरीबाट ओभरलोड भनेर ट्रक, ट्रेलरहरू समाती दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने गरिएको छ, शान्ति सुरक्षाका लागि अनुरोध आएमा व्यवस्था गर्ने, क्षेत्राधिकारविपरीत रोक्ने र दुःख दिने काम कहीँकतै नगर्न अनुरोध छ।’

सडकमा ट्राफिक प्रहरी तथा प्रहरीले चेकजाँच गर्दा उद्योगहरूमा जाने कच्चापदार्थका ठूला साधनहरूलाई अवरोध पुगेको गृहको पत्रमा उल्लेख छ। र, यस्तो बाधा व्यवधान नगर्न अनुरोध गरिएको छ। गृहको पत्रमा तराईका २२ जिल्लाको नाम नै उल्लेख गरिएको छ।

ती जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।

यी जिल्लामध्ये झापा, मोरङ, बारा, पर्सा, रुपन्देही र बाँकेमा अत्याधिक तस्करी हुने गरेको छ। भन्सार जाँचपास कडाइ गरे पनि नक्कली प्रज्ञापन पत्र बनाएर तस्करी गर्ने गरिएको भन्दै प्रहरीले निगरानी गर्ने गरेको थियो।

यस्तोमा प्रहरीले भन्सारसँग समन्वय गरी भन्सारलाई नै त्यस्ता मालवाहक सवारी कारबाहीका लागि जिम्मा लगाउने गरेको थियो। नक्कली प्रज्ञापन पत्र भेटिई आएको मालवाहक सवारीलाई कारबाही गर्न भन्सारले राजश्व अनुसन्धान विभाग पठाउने गरेको थियो।

राजश्व अनुसन्धान विभागमा मालवाहक सवारी पुगेपछि मुद्दा टुंगिन लामो समय लाग्ने गरेको भन्दै उद्योगी रुष्ट थिए।

भन्सार चोरी पैठारी नियन्त्रणको ‘राजश्व गस्ती’मा सशस्त्र प्रहरी पनि खटिने गरेको छ। सशस्त्र प्रहरीलाई समेत निर्देशन दिइएकाले राजश्व गस्तीमा अब सशस्त्र प्रहरी खटिने/नखटिने अन्यौल छ।

गृहको निर्देशन कच्चापदार्थ बोकेका ठूला गाडीलाई मात्र भएकाले अन्य मालवाहक साधन पूर्ववत् रूपमै जाँच गर्न सकिने प्रहरीले जनायो।

रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘कच्चापदार्थ बोकेका ठूला मालवाहक गाडीलाई दु:ख नदिनु भनिएको हो। अरु गाडी हामी मजाले चेकजाँच गर्न सक्छौं।’

भन्सार कार्यालयहरुमा एक्सरे उपकरण छैन। प्रज्ञापन पत्र हेरेर भन्सार जाँचकीहरुले मालवाहक साधनको सिल खोल्छन् र नयाँ सिल राखेर जाँचपास गराउँछन्।

यसमा भन्सार कर्मचारी र भन्सार एजेन्टहरूको मिलेमतो रहने गरेको र झुठो प्रज्ञापन पत्र बनाएर तस्करी हुने भइरहेको भन्दै प्रहरीले बीचबीचमै रोकेर समात्ने गरेको छ। सेतोपाटिमा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv