गन्तब्यमा भेटिएको त्यो आँशु ..! कथा
काठमाण्डौं, साउन १८ । त्यो दिन मेरा कदमहरु डगमगाउदै लरखराइरहेका थिए ।एक किसिमको भुईचालो मुटुको कुनै कुनामा यसरी गइरहेको थियो लाग्थो सायद मुटु फुट्छ । पीडा हो या चोट थियो कता कता दुखेकै थियो ..दैखाउनै नमिल्ने आँशु मन भित्र बगिरहेको थियो । सायद त्यो दिन मलाई जस्तै अदृश्य पीडा उनलाई पनि भएको थियो ।अनगिन्ति बलिन्द्रधारा आसुको भेल यसरी बगेको थियो लाग्थ्यो जतिपनि बस्ती बसेका छन, धर्तिमा साराका सारा बगाएर जान्छन । कति मूल्य पर्थो त्यो आँशुको धारा त्यो त थाह छैन तर अमुल्य थियो । उनका आँखाबाट बगेका बलिन्द्र आँशुको धाराले थोरैलाई बेफाइदा हुदो हो तर धेरैलाई फाइदा नै पुगेको थियो । कोहि त्यस आँशुमा सुनौला धानका बाला फुलाउने सपना सजाउदै थिए , कोहि भोलि आउने खुसिहरु बटुल्दै थिए । म भने उनले बगाएका आँशुमा आफ्नो दुई चार थोपा आँशु खोजिरहेको थिएँ ।
मलाई लागेको थियो पीडा मलाई भैरहेको छ तर आँशु उनले बगाइरहेकि थिइन ।बाध्यतामा बढेका मेरा कदमलाई उनी भेटाउने कोसिस गरिरहेकि थिइन ।रुदा रुदा थकित मुद्रामा पनि भविष्यमा आउने सङकटको बारेमा मलाइ चिच्चाई चिच्चाई सचेत बनाइरहेकि थिइन ।घरि उनी धित मरुन्जेल रुन्थिन ..घरि क्रोधित भइ मेरा कदम रोक्न हावाको बौछार पठाउथिन ..घरि उनको आँशुले निथ्रुक्क भिजेको मेरो शरिरलाई मधुरो घामको किरन पठाइ मायाले सुम्सुम्याउथिन ।उनी मलाई रोक्न हरदम कोसिस गरिरहिन …मन्द मन्द हावाको झोकासङगै कानमा आएर सुटुक्क भन्थिन ” तैले रोजेको बाटो गलत छ,त यस्तो भुमरीमा फस्दै छेस जहाँ बाट उम्कन सयौ बर्ष लाग्ने छ ..त्यसैले भन्दैछु नजा ” त्यस दिन मैले प्रकृतिको त्यो इसारालाई बुझ्नै सकिन …………………….
मेरो पिडामा बगेका ती आशुको धारालाई मैले बर्षातको नाम दिए……मेरो बाटो रोक्न आएका हावाको बौछारहरुलाई मैले असिनाको नाम दिए …..मेरो बिबसता प्रति चिच्चाएका आवाजलाई मैले चट्याङको नाम दिए ………….मैले बुझ्नै सकिन आखिर उनी मेरै शुभचिन्तक थिइन ।एक पटक पनि पछाडि नफर्कि म त्यो बाटो हिडिरहे जुन बाटो मैले रोजेकै थियन ……… । लेखिका – माया महरा ।