आधुनिक तीज : हेमा सेन ठकुरी
सौन्दर्यलाई हिजोआज हाम्रा नेताजी हरुलाई भन्दापनि बढी भ्याई नभ्याई छ। तर सौन्दर्यालाई सत्ताको लुछाचुँडीको कारणले होइन कि भदौ को सुरुदेखि नै तिजको दर र फेसनले भ्याई नभ्याई छ।आज त झन् उनी युद्ध को सिपाही झैँ व्यस्त छिन्।सधैँ अबेर उठ्ने उनी आज विहानै उठेर ब्यूटी पार्लर गइन् र कपाल बनाइन,हेभी मेकअप गर्न लगाईन्।
अनि घर आएर साडी रोज्न थालिन्।एउटा साडी निकालिन्,छ्या; यो त राम्रो छैन।अर्को निकालिन्, छि; यो त हिजो लगाएको साडी हो भन्दै पलङतिर मिल्काइन्।अनि भव्य दराजबाट नयाँ साडी निकालिन्।ए; यो साडी पो हो,वनारस बाट बिस हजारमा किनेर ल्याएको!! अनि सिसा हेर्दै नाइटोमुनी साडी लगाइन्,ढाड देखिने ब्लाउज लगाइन्।हातमा सुनका चुरा र बाला,औँलामा हिराको औँठी,नाडीमा स्वीज घडी अनि छड्के तिलहरी र हिराको नेक्लेट्स् मा सजिइन्।अनि “क्याट वाक” शैलिमा बाहिर निस्किइन्।बाहिर आँगन मा बसेर पत्रिका पढ्दै गरेको पल्ला घरको भोलाराम लाई देखेपछि चुरा बजाउँदै सोधिन् ए; भोलाराम भाइ,आज म कस्ती देखिएकी छु हँ ? भोलाराम मुसुक्क हाँस्यो: ” एकदम च्वाँक देखिनुभाको छ,कटरिना भन्दा पनि सेक्सी देखिनुभाको छ।” हो र भन्या ? भन्दै मर्सिडीज मा चढेर तारे होटलमा उत्ताउला तीजे डिस्को नाच्न हिँडिन्।
गेट बाहिर निस्किदै गरेको गाडी हेर्दै भोलाराम बोल्यो;” वाह! रे आधुनिक तीज!! यहाँ हरेक कुरामा यस्तै गाइजात्रा छ!!”
नेपाली हिन्दू नारीहरु को महान चाड,”हरितालिका तीज” हिजोआज निकै नै विकृत भएको छ।हरितालिका तीज मान्ने परम्परा हिजो जुन उद्देश्य ले स्थापित भएको थियो,आज त्यसलाई समाजले एकाध अपवाद लाई छोडेर पूर्णतया बिर्सिएको छ।नयाँ पिढी का अधिकाँश हुनेखाने महिलाहरुका लागी त तीज केवल खाने,लाउने र मोजमस्तीको एक “फेसन परेड” जस्तो देखिएको छ।
चाडवाड,रितिरिवाज,सँस्कृति हाम्रा पहिचान हुन्, हाम्रा धरोहर हुन् यसको सँरक्षण,सम्वर्द्धन गर्नु हामी सबैको कर्तव्य हो!! तसर्थ आधुनिकता को होडमा आफ्नो मौलिकतालाई चटक्कै नभुलौँ।
हर्ष र उल्लास सहित सभ्य र भव्य तवरले तीज मनाऔँ। लेखिका – हेमा सेन ठकुरी ।