संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराइँदै
दुबई,असोज ३ । संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराइँदै, केही घण्टामै फहराइने नेपाली झण्डा हेर्न लाखौं नेपाली जम्मा हुँदै
आज केही घण्टा पछि संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउने भएको छ । बुर्ज खलिफामा नेपाली झण्डा फहराइन लागेको यो पहिलो पटक हो । संसारका विभिन्न मुलुकका विशेष अवसरमा अन्य मुलुकको झण्डा फहराएको देखेका नेपालीहरु आफ्नो देशको झण्डा पहिलो पटक फहराइन लागेको खबरले निकै उत्साहित भएका छन् । संसारकै अग्लो भवन बुर्ज खलिफा युएईमा पर्छ । युएई नेपालीहरुको लागी वैदेशिक रोजगारीका लागि जाने मुख्य मुलुक मध्ये एक हो । युएईमा लाखौं नेपाली वैदेशिक रोजगारीमा लागी पुगेका छन् । आफ्नो आँखा अगाडी अन्य छिमेकी मुलुकको झण्डा फहराएको देख्दा दुख्ने गरेको नेपाली मन भने आज खुसी भएको छ ।
कसरी जुर्यो त यो अवसर ?
अघिल्लो वर्ष संविधान दिवस मनाउने कुराकानी हुँदा युएईका लागि तत्कालीन कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलको योजना थियो यो । उनले अन्य मुलुकको विशेष अवसरमा झण्डा फहराए जस्तै नेपालले पनि किन नफहराउने ? यो वर्ष यस्तो संयोग जुरेको छ की नेपाल पर्यटन वर्ष पनि मनाइन थालिएको छ । जसले नेपालको पहिचान र पर्यटनमा थप टेवा पुग्ने छ । उक्त भवनमा नेपाली झण्डा फहराउनका युएइको स्थानीय निकाय र सम्बन्धित सरकारी पक्षसँगको समन्वय गरेर सो कुरा सम्भव भएको छ । अघिल्लो वर्ष पुरा हुन नपाएको सपना यो वर्ष भने पुरा हुने भएको छ ।
बुर्ज खलिफामा शुक्रबार राति यहाँको समयअनुसार ९.१० बजे (नेपाली समय १०. ५५) मा नेपाली राष्ट्रिय झण्डा फहरिने दूतावासले जनाएको छ । संसारकै अग्दो भवनमा १ मिनेटसम्म नेपाली झण्डा देख्न सकिने छ । राजदूत कृष्णप्रसाद ढकालले जानकारी सो कुराको जानकारी गराउँदा युएइमा बस्ने सम्पूर्ण नेपाली खुसी भएका छन् शुक्रवार युएइमा विदा हुने गर्छ । तर विदाको दिन भएपनि नेपाली झण्डा फहराएको हेर्न नेपालीहरु जम्मा हुने भएका छन् । युएइको सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा देख्न सकिनेछ।