चीनको हुवेई प्रान्तमा रहेका नेपालीको सरकारले उद्दार गर्ने
काठमाण्डौ,माघ १९ । सरकारले कोरोना भाइरसको स’ङ्क्र’मणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।
हुवेइको बुहानबाट कोरोना भाइरसको स’ङ्क्र’मण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ । “नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ”, विज्ञप्तिमा भनिएको छ ।
दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ ।
चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता
चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा प्रभावकारीरूपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको विश्वास व्यक्त गर्नुभएको थियो ।
चीनका लागि अहिले सबैभन्दा महत्वपूर्ण काम भनेको महामारी संक्रमणको प्रतिरोध गर्दै बिरामीका लागि राम्रो उपचार गर्नु रहेकोे प्रतिक्रियामा प्रधानमन्त्री खछ्याङले बताएको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।
उहाँले भन्नुभयो, “चीन सरकार र चिनियाँहरुले उक्त महामारीलाई पराजित गर्ने विश्वास,अठोट र क्षमता लिएका छन् ।” चीनले सकेसम्म महामारीको प्रतिरोध गरिरहेका चिकित्सकका लागि सबै आवश्यक चिकित्सा सामग्री बन्दोवस्त गरिहरेको छ ।
साथै युरोपेली संघका सदस्य मुलुकबाट चिकित्सा सामग्रीको खरिद गर्न युरोपेली संघले आवश्यक सुविधा प्रदान गर्नसक्ने आशा चीनले गरेको छ । युरोपेली संघले चीनद्वारा यस महामारीको प्रतिरोधका लागि लागू गरिएको कदमको सम्मान गर्दै सक्दो प्रयासमा चीनलाई सहायता प्रदान गर्ने अध्यक्ष उर्सुलाले बताउनुभयो ।