के तपाईलाई मलद्वार चिलाउने समस्या छ ? ( गुदाकन्डु) एक विश्लेषण -गोपाल आचार्य
परिचय :- दैनिकजसो आयुर्वेदिक उपचार केन्द्रहरुमा आउने साझा समस्यामध्ये एउटा मुख्य समस्या हो मलद्वार चिलाउने समस्या, जस्लाई Perianal Itching भन्ने गरिन्छ ।
गुदामार्गमा चिलाउनु एनोरेक्टल ( गुदामार्ग-मलासयगत) रोगको एउटा महत्त्वपूर्ण लक्षण हो । गुदामार्ग र त्यसको आसपासको त्वचा अत्यन्त संवेदनशील हुन्छ । कुनै कारणवस त्यस ठाउँमा संक्रमण हुन गएमा वा स्राव (तरल पदार्थ) बहन हुन पुगेमा चिलाउने समस्या उत्पन्न हुन सक्दछ ।
गुदामार्गलाई राम्रोसँग पर्छालन नगर्दा वा सफा राख्न नसक्दा कंडुरोगका ( चिलाउने रोग ) किटाणुहरुले त्यस स्थानलाई प्रभावित (संक्रमण) गरेर यो समस्या उत्पन्न गर्ने गर्दछन । यो अवस्थामा गुदामार्गको बाहिरी त्वचामा अत्यन्त चिलचिलाहट उत्पन्न हुन सक्दछ । स- साना बिबिरा वा डाबरहरु समेत देखापर्न सक्दछ ।
कारणहरु:-
- स्वच्छताको कमि
- गुदामार्गको भित्री वा बाह्य स्थानबाट स्राव हुनु
- किटाणुहरुको संक्रमण
- कुनै बस्तुप्रती एलर्जी हुनु
- मनोरुग्णावस्था
- क्यान्सरको शुरुवाती अवस्था
- मधुमेह वा पाण्डु रोग
- उदरकृमी
- प्रवाहिका (आउमासी) आदि ।
- स्वच्छताको कमि :- मलत्याग पश्चात् राम्रोसँग सफा नगर्नु, भित्री वस्त्रहरु धेरैदिन सम्म नधोइकन लगातार लगाइरहनु, भित्री वस्त्रहरु राम्रोसँग नसुक्दै चिसै लगाएर हिड्नु, गुदामार्गमा ज्यादा पसिना आउनु, अन्य कुनै रोगको कारण गुदामार्गको सफाइमा बाधा आउनु, नाइनल वा पोलिस्टरयुक्त भित्री वस्त्र लगाउनु आदि ।
- गुदामार्गको भित्री वा बाह्य स्थानबाट स्राव हुनु :- मलासयगत रोगको कारण तरल पदार्थ स्राव गुदामार्गको बाह्य वा भित्री स्थानबाट उत्पन्न हुनु । मुख्यरुपमा पाइल्स, फिसर वा फिस्चुला जन्य कारण ।
- किटाणुहरुको संक्रमण :- ब्याक्टेरिया वा कुनै परजीवीको संक्रमणले गर्दा यो समस्या हुने गर्दछ ।
- एलर्जी :- कसैकसैलाई एलर्जीको कारणले गर्दा पनि यो समस्या उत्पन्न भैरहेको हुन्छ । यस्ता एलर्जी गराउने बस्तुहरु मध्ये Toilet paper, साबुन, कृम, लोसन वा भित्री वस्त्रमा लगाइएको colour तथा एन्टिबायोटिक औसधिको अत्यधिक निरन्तर प्रयोग पनि यसको कारण हुन सक्दछ ।
- मनोरुग्णावस्था :- मानसिक रुपले अस्वस्थ ब्यक्ति आफ्नै हातले गुदामार्गमा चलाएर आनन्द महसुस गर्न थाल्दछ र पछि उस्को आदत बन्न सक्दछ । तर यस्तो अवस्था तवमात्र निर्धारण गर्न सकिन्छ जब सबै परिक्षण पश्चात् पनि चिलाउने कुनै ठोस आधार भेटाउन सकिँदैन र रोगिको मनोगत अवस्था डिप्रेटिभ भएको जस्तो कुनै ठोस आधार देख्न सकिन्छ ।
- क्यान्सर रोगको शुरुवाती अवस्था :- यो कारणले गर्दा पनि मलद्वार चिलाउने समस्या उत्पन्न हुन सक्दछ ।
- मधुमेह वा पाण्डु रोग :- यी दुबै रोगहरु पनि यो समस्याको कारक तत्व बन्न सक्दछ्न ।
- उदर कृमी :- पेटमा परजीवी वा जुकाको संक्रमण भएमा पनि यो समस्या देख्न सकिन्छ ।
- प्रवाहिका :- आउमासी ( डिसेन्ट्री ) गराउने जिवाणु, पारासाइटिस वा अमिवाको कारण पनि यो समस्या हुन सक्दछ । अथवा कुनैपनी श्लेष्मा ( म्युकस) युक्त स्रावका कारण यो समस्या हुन सक्दछ ।
निदान :- रोगिको समस्या हुनुको वास्तविक कारण बुझ्न अत्यन्त जरुरी हुन्छ । कुन कारणले गर्दा चिलचिलाहट भैरहेको छ सो को जाँच- पडताल र पहिचान हुनु जरुरी छ । आवस्यकता अनुसार सुगर वा पाण्डुरोगको पहिचानका लागि रक्तपरिक्षण तथा मलासयगत परिक्षण गर्नुपर्दछ । बिशेष परिस्थितिमा गुदामार्गको बायोप्सी समेत गर्नुपर्ने हुन सक्छ ।
उपचार :- यदि चिलाउने कुनै ठोस कारणको निदान भएमा सोही अनुसार यस्को उपचार गर्नुपर्ने हुन्छ । सबभन्दा पहिला कारण पत्ता लगाउनु नै उपचारको मुख्य तथा महत्त्वपूर्ण कुरा हुन आउँछ । जहासम्म चिलाउने स्थानमा नङ्ग वा कुनै अन्य बस्तुले कन्याउनबाट रोक्ने सल्लाह दिनु जरुरी हुन्छ किनकि कन्याउनाले लक्षण तथा जटिलतामा थप वृद्धि हुन सक्दछ । जुन पायो त्यै साबुनको प्रयोग नगर्नु, toilet paper को सट्टामा रुईको प्रयोग गर्नु पर्दछ । नरम, सुति तथा कटनको बस्त्रहरु लगाउनु र चिलाउने स्थानमा मनतातो पानीले सेक्ने र पर्छालन गर्ने ( sitz bath) गर्ने गर्नुपर्दछ । साथै कब्जियत हुन नदिनु पनि एकदमै जरुरी हुन्छ । यसकालागी रेसादार सागसब्जी, फलफूल तथा तरल पदार्थको सेवन गर्नुपर्दछ । समुचित व्यायाम र नियमित समयमा सात्विक भोजन गर्नु अति जरुरी हुन्छ । रात्रिकालिन सयनपुर्व एकचम्चा त्रिफला चुर्णको सेवन हितकर हुन्छ ।
आयुर्वेदिक उपचार :-
- गन्धक रसायन टेवलेट :- २/२ टेवलेट भोजनपुर्व मनतातो पानीसंग सेवन गर्ने ।
- निम क्याप्सुल :- २/२ क्याप्सुल भोजनोपरान्त मनतातो पानीसंग । ( लो ब्लडप्रेसरमा दिनुहुदैन )
- चोपचिन्यादी चुर्ण, निम्वादी चुर्ण, गन्धक रसायन, गिलोय सत्व, रस माणिक्य, कैशोर गुगुल आदिको प्रयोग गर्न सकिन्छ तर रोग र रोगिको बलाबल अनुसार मात्रा निर्धारण गरेर कम्पोजिङ गर्नुपर्दछ ।
निमको पातको रस 500मिलि, गाइको घ्यु 125 ग्राम, रसकपुर 15 ग्राम र मोम 25 ग्राम लिएर गाइको घ्युलाई तताएर निमको पातकोरस तथा रसकपुर मिसाई मन्द अग्निमा पकाइ तेलमात्र शेष रहेपछि मोम मिलाएर मलहम बनाइ उक्त मलहम दिनमा दुइपटक लगाउनाले चिलचिलाहट बन्द हुन्छ ।
घ्युकुमारिको गुदिमा बेसार मिसाई लगाउनाले पनि राहत दिने गर्दछ ।
यसद भस्म, टंकण भस्म तथा आवलासार गंधक 5/5 ग्राम मिसाई तोरिकोतेल 60 ml मा पकाइ प्रभावित स्थानमा लगाउनाले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।