ओलीले पनि यसअघिका पाप धोए – डा. सुन्दरमणि दिक्षित (भिडियो)
काठमाण्डौं,फागुन २० । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । नेपालका नेताहरुले सानो रोग लाग्दापनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदे पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘ओलीले पनि यसअघिका पाप धोए । केही महिनाअघिपनि उनले सिंगापुरमा उपचार गरेका थिए । अहिले मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गरेर नेपालीहरुको ईज्जत बढाईदिए । त्यतिमात्रै होईन, नेपाली डाक्टरहरुको पनि ईज्जत बढाए ।’ उनले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । उनले भने,‘अहिले कोरोना भाईरसको समय चलिरहेको छ । अहिले नै प्रत्यारोपण गर्नुपर्ने कारण के थियो ? उहाँले त नियमित डायलायसिस गरिरहनुभएको थियो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै डा. दिक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए ।