लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
पुरानो मोडेल :
संक्रमितहरु सीमाबाट निर्बाध रुपमा आइरहे, परिक्षणको दायरा अत्यन्तै साँगुरो भयो, पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए, कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परिक्षणको लापरबाहीले २ जनाको ज्यान गयो, लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो ।
नयाँ मोडेल :
१. परिक्षणको दायरा तीब्र गतिमा होस् ।
२. सिमानामा कडाइ होस् ।
३. भारतसंग सिमाना भएका सबै जिल्लामा प्रति जिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस् ।
४. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसंग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था होस् ।
५. १५ दिन सकिन्छ भने देशभर कर्फ्यु वा बैकल्पिक रुपमा कर्फ्यु स्तरको लकडाउन होस् । यसो गर्दा संक्रमितमध्ये ८५ % लाई आफै निको हुन्छ, लक्षणदेखिए अस्पताल पुर्याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउंदैन ।
६. मान्छेहरु मर्निंग वाक, इभिनिंग वाक, सपिंग आदि कामले बिहानबेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहानबेलुका कर्फ्यु लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन ।
७. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफुल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड हुँदैन ।
८. सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मिको गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ ।
९. मास्क नलगाएमा, सामाजिक दुरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना संगै हिड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था होस् ।
१०. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, बिभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस ।
यसो गर्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ । पुरानो मोडेल अनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन ।