कालापानीमा सशस्त्रको गस्ती पछी गाउँ फर्किन थाले स्थानीय बासिन्दा
दार्चुला,असार २ । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती गर्न थालेका हुन् । छाङरूबाट कालापानी १४ किलोमिटरको दूरीमा पर्छ ।
दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु करीब ८० किमी र छाङरुबाट गुञ्जी दोभान १० किमीको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमी टाढा छ । कालापनीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिंडेर जान १० घन्टासम्म लाग्छ । सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । सो नक्शालाई समेटेर बनाइएको निसान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।