भारत-चीन सीमाना गलवान उपत्यकामा भएको भिडन्तबारे बोल्यो नेपाल
काठमाण्डौं,असार ७ । भारत र चीनका सैनिकहरूबीच गलवान उपत्यकामा गत सोमवार राति भएको हिंसक सङ्घर्षबारे औपचारिक प्रतिक्रिया जनाउँदै नेपालले देशहरूबीचको विवाद शान्तिपूर्ण उपायबाट सुल्झाउनुपर्ने भनेको छ । छिमेकी दुई ठूला राष्ट्रबीच दशकौँपछि भएको त्यस्तो भिडन्तबारे पाँच दिनपछि नेपालले पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेको हो ।
नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै छिमेकी देशहरूले असल छिमेकीको भाव बोक्दै आपसी मतभेदलाई शान्तिपूर्ण रूपबाट द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको पक्षमा हुनेगरी सुल्झाउनेछन् भन्नेमा नेपाल विश्वस्त छ।”
शनिवार नै चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई भारतीय सुरक्षाकर्मीको ‘नियोजित उक्साहट’ भनेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि ‘भीषण युद्ध’ निम्तिएको बताए । उनले चिनियाँ फौजको हताहतबारे भने विवरण दिएनन्। शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए । गलवान उपत्यकामा भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए ।
भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ । समाचार बीबीसी छापेको छ ।