आज गुरु पुर्णिमा र व्यास जयन्ती
काठमाण्डौं,असार २१ । “अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ” आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ ।
आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो ।
व्यास ऋषि चारै बेदहरुको व्याख्याता हुन् । उनले वेदको ज्ञान प्रदान गरेका थिए । यिनै बेदका रचियता एव व्याख्याताको आदिगुरु ब्यास ऋषिको अंश स्वरूप आफ्ना गुरुहरुलाई मान्दै गुरु पुर्णिमाका दिन पुजा एव दान –दक्षिणा प्रदान गर्ने गरिन्छ । हिन्दु धर्ममा गुरुलाई भगवान भन्दा पनि माथिको दर्जा दिईएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरु पुर्णिमाको महत्व बिशेष रहेको हो । जीवनमा गुरुको महत्व धेरै रहन्छ । ‘गु’ को अर्थ हुन्छ अंधकार (अज्ञान) एवं ‘रु’ को अर्थ हुन्छ प्रकाश (ज्ञान)। गुरुले अज्ञान रूपी अंधकारबाट ज्ञान रूपी प्रकाश को तर्फ लिएर जाने हुदा भावी जीवनको निर्माणमा गुरू द्वारा नै मार्गदर्शन हुने भएकोले गुरु जीवनमा अपरिहार्य हुन्छ ।
गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान गर्ने गरिन्छ । यस अवसरमा बिध्यालयहरु र आश्रमहरुमा गुरुहरुका लागि पूजा-पाठ गर्न विशेष कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यस दिनमा विभिन्न क्षेत्रमा आफुलाई शिक्षा दिने तथा महत्वपूर्ण योगदान दिने वाला गुरु एव विभूतिहरुलाई सम्मानित गर्ने गरिन्छ । यस दिन गुरुको नामबाट दान-पुण्य गर्ने प्रचलन पनि छ । मनु स्मृतिका अनुसार, केवल वेदहरुको शिक्षा दिने मात्र गुरु हुदैनन । जीवनमा जसले सहि मार्गदर्शन गर्दछन् उ जो कोहि भए पनि उसलाई गुरु समान सम्झनु पर्दछ ।
व्यास जयन्ती
गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यि अष्ट चिरन्जिवीमध्यका एक चिरन्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौं ।
गुरु ब्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जिवन्त पात्र पनि हुन्, महाभारतका भिष्म र ब्यास नाताले सौतेनी दाजुभाई हुन् । राजा शान्तनुले सत्यवतीलाई बिवाह गर्दछन्, सत्यवतीका पिता माझी हुन्छन्, राजाले ससुरालाई सत्यवतीका तर्फवाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै सान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको वाचा थाहापाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमार वाट हटेर सिंहासनमा कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतीका बिवाह अघिका पुत्र हुन्, यिनका पीता परासर हुन् । परासर र सत्वतीको अध्यात्मिक समागमले ब्यासको जन्म भयो, आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तीनापुर दरवारसम्म पुग्दछन् । यिनै ब्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन्, कथेका हुन् । सबै वेद, श्रीमद भागवत अनि १८ पुराणका सर्जक ब्यासले दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । ब्यास गुरुका पनि गुरु हुन्, आजको दिन अर्थात यो पूर्णिमा यिनको जन्म अनि यिनले वेदका त्रानलाई बाँढेर वेदका प्रकारहरु र नाम छुट्याएको पवित्र दिनका रुपमा संझना गरिन्छ ।