प्रधानमन्त्री केपी शर्मा ओली को भाषण पछी अयोध्यापुरीमा भगवान रामको जन्मस्थानको प्रमाण खोज्न शुरु
काठमाण्डौं,असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक अयोध्या नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरेको भन्दै दिएको अभिब्यक्तिले यतिवेला राष्ट्रिय र अन्तराष्ट्रिय चर्चा सुरु भएको छ । भारतमा चर्को विरोध भएको छ भने भारतीय सन्तले नेपालको सरकार नै ढलाउने चेतावनी सहित आन्दोलन समेत सुरु गरेका छन् । प्रधानमन्त्रीले नै त्यस्तो अभिब्यक्ति दिएपछि सरकार पर्सामा रहेको अयोध्यापुरीमा उत्खनन गर्ने भएको छ । वास्तविक अयोध्या कहाँ हो भन्ने विवाद साम्य पार्न अब पुरातात्वीक विभागलाई दवाव बढेको छ ।
भारतका केही मिडियामा आएका समाचार र भिडियो सामग्रीहरुमा समेत पर्साको अयोध्यापुरीलाई नै रामको वास्तविक अयोध्या भन्दै चर्चा गरेका छन् । अहिले नेपालसंग रहेका प्रमाणले त्यो पुष्टि गर्न नसक्ने भएपछि पुरातात्विक विभागले उत्खनन गर्ने भएको हो । अन्तराष्ट्रिय रुपमै यसको चर्चा भएपछि पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्र्नुपर्ने देखिएको विभागले जनाएको छ । अब वास्तवमै त्यसवारे अध्ययन हुने भएको छ ।
सरकारले निर्देशन दिनासाथ आफुहरु उत्खनन र अध्ययनका लागि जाने विभागका एक अधिकारीले जनाएका छन् । तर त्यसका लागि वजेट भने आवश्यक पर्ने छ । अहिले मौज्दात रहेको वजेटले अध्ययन सम्भव नहुने र वजेट उपलब्ध गराउनुपर्ने बताएका छन् । अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न विभाग तयारी अवस्थामा हरेको बताइएको छ । वास्तवमा पर्साको अयोध्यापुरी रामको जन्मस्थान थियो की थिएन भन्ने पत्ता लगाउन उत्खनन गरिने भएको हो ।
हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन । पर्साको अयोध्यापुरी नै वास्तविक अयोध्या भएको चर्चा बेलाबेलामा उठ्ने गरेको भएपनि यसको अनुसन्धान नहुँदा अन्यौलता कायम छ । पुष्टि नभएकै अवस्थामा प्रधानमन्त्रीले अयोध्या नेपालमै भएको दावी गरिदिएका कारण अहिले विरोध भएको छ ।