आज महाष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै
काठमाडौं,कार्तिक ८ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ ।
बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।
आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।
“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा
भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने ।
ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा। डा। गौतम बताउँछन् ।
“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीन शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।
आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाआराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।