मेरो निर्णय अदालतले उल्टाउन सक्दैन, अबको चुनावमा दुई तिहाई ल्याएर म फेरि प्रधानमन्त्री बन्छु’- केपी शर्मा ओली
काठमाण्डौं, पौष १४ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अहिलेसम्मका आधिकारीक अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका छन् । उनले संसद विघटनको निर्णय अदालतले उल्टाउन नसक्ने बताएका हुन् ।
राष्ट्रपतिसँग निकटता भएकै कारण संसद विघटन गर्न सफल भएको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो गुट भेलामा यस्तो बताएका हुन् । ओलीले चुनाव जसरी पनि हुने बताए । उनले भने, कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको पाइयो । यस्तो हुन सक्दैन ।
उनले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । त्यस क्रममा ओली समुहले केन्द्रीय कमिटी विस्तार गरेको छ । । बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ र २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
ओलीका कार्यकर्ताहरु सम्भावित केन्द्रिय सदस्यको खोजीमा जुटेका छन् र थप्न बाँकी १९६ लाई खोजेर केन्द्रिय सदस्य बनाइने ओली समुहका एक नेताले बताएका छन् । मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताएका थिए ।
अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको ओली समुहको दावी छ । ओलीको अर्को दावी अनुसार ओलीको पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।
दुई तिहाई ल्याएर फेरि आफू प्रधानमन्त्री बन्ने ओलीको सपना छ । बर्तमान सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव आगामी बैशाख १७ र २७ मा गर्ने निर्णय गरिसकेको छ ।