मैले नजन्माएकी छोरी -कविता
मैले नजन्माएकी छोरी -कविता
धिक्कार छ मलाइ
मेरो ममतालाइ
मेरो स्नेहलाइ
मेरो बिश्वासलाइ
मैले किन
आफूले आफैलाइ
चिन्न सकिन ?
रगतको नाता भन्दा
भावनाको नाता ठूलो
सोच्दै माया बर्षाइ रहें !
आज मलाइ नैं बदनाम गरेर
छोडेर गयौ है
आमा म जान्छु पनि नभनी
कुनैं चोर भागे झैं
मेरी मनकी हिरा तिमी
लुसुक्क भाग्यौ है !
मेरो मुटु टुक्रयाएर लग्यौ है
मैले भनेकै थिएँ छोरी
मेरो सबै तिम्रो हो
तिम्रो खुसी मेरो खुसी हो !
तिम्रा जितका लागि
मैले हारेकी थिएँ
तिम्रा रहरका लागि
आफ्नैं इच्छा बारेकी थिएँ
तिमीलाइ मेरै हातले
सोर्ह सिङ्गारले सजाएर
सुन, हिरा, मोती
माणिक्यले सजाएर
डोलीमा अन्माएर
मेरो खुसीको आँशुसंगै
विदाइ गर्न चाहन्थें छोरी !
तिमी उ त्यो
आकासको चाँद झैं चम्केर
संसारमा उज्यालो छरेको
हेर्न चाहन्थें छोरी
तर आज मेरा इच्छा
कुल्चेर गयौ
अंध्यारोमा जूनकिरी झैं
रमाउन चाह्यौ छोरी
मेरो फराकिलो मायाको आँगन
लत्याएर गयौ छोरी
मेरो ममताको आँचल चुडेर गयौ
तिमीले मेरो माया कुल्चेर जाँदैमा
मेरो ममता कहाँ मरेको छ र?
खोला संधैं ओरालो बग्छ नि होइन र?
सदा आशिर्वाद छ छोरी
तिमी हिड्ने बाटोभरि
फूलैफूल सजियोस्
एउटै काँडाले नकोतरोस्
तिम्रो जीवनमा
दु:ख पिडाको वादल सम्म नदेखियोस्
तर
तिमीलाइ दु:ख ,पिडा पर्यो भने
बाटो विराएको वटुवा हुँ भन्ने लाग्यो भने
यो अभागी आमा छेउ आउ छोरी
मेरो मनको दैलो तिम्रालागि
सदा खुल्ला छ!!!
अन्जना पौडेल “अनुश्रुती”
२०७५/७/२७