नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ एमाले अध्यक्ष ओली भेट्न बालकोटमा
काठमाण्डौं,असार २८ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनको निवास बालकोट पुगेका छन् ।
बालकोटमा लिउ–ओली भेटवार्ता सुरु भएको छ । भेटवार्तापछि ओली निवासमा लिउको स्वागतका लागि दिवा भोजको आयोजना गरिएको छ ।
यसअघि लिउले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । उनले भोलि बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यतालिका छ । चार दिने नेपाल भ्रमणका क्रममा लिउ काठमाडौं छन् ।
उनलाई चीनले वामगठबन्धनको प्रयासका लागि काठमाडौं उतारेको चर्चा राजनीतिक वृत्तमा छ । प्रचण्डसँगको भेटमा पनि लिउले वाम गठबन्धनबारे विशेष चासो राखेको बताइएको छ ।