लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज
रुपन्देही,पुष १७ । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज पुस १७ गते आइतबार हुँदै छ । प्रदेश सभा सचिवालयले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ ।
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित प्रदेश सभा भवनमा सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो । यहाँ पहिलो पटक औपचारिक कार्यक्रम गरिँदै छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनेछन् ।
अन्य प्रदेशहरूमा ज्येष्ठ सांसदले शपथ गराउने भए पनि लुम्बिनीमा प्रदेश प्रमुखले नै सबै सांसदहरूलाई शपथ गराउने कार्यविधि बनाइएको छ । प्रदेश प्रमुखले शपथ ग्रहण गराएपछि सभामुख चयन नहुँदासम्म ज्येष्ठ सांसदले अध्यक्षता गर्नेछन् ।
अहिले निर्वाचित सांसदहरूमध्ये गुल्मीका डिल्लीराज भुसाल सबैभन्दा ज्येष्ठ सांसद हुन् । पहिलो अध्यक्षता उनैले गर्नेछन् । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वाचित भएका हुन ।
अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थानान्तरण भएसँगै लुम्बिनी प्रदेश सरकार र संसद् सचिवालय लगायतको कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै सञ्चालन भएका छन् ।
प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भई नसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट शपथ ग्रहण गराउन लागिएको हो । यसैवीच लुम्बिनी प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा निर्माण भएको नवनिर्मित भवनमा प्रदेशको पहिलो अधिवेशन बस्न लागेको हो ।
आइतबारको कार्यक्रमका लागि अधिकांश सांसदहरू शनिवार साँझ नै देउखुरी पुगेका छन् । प्रदेश सभाले प्रदेशमा रहेका सबै दलका नेताहरूलाई पनि शपथग्रहण कार्यक्रममा बोलाएको र पहिलो पटक स्थायी राजधानीमा यो कार्यक्रम गर्न लागिएकाले स्थानीयलाई उत्साहित बनाएको छ । (समाचार नेपाल प्रेसले छापेको छ ।)