लिङ्देनको नेतृत्वमा राप्रपा उपप्रधानसहित सरकारमा सहभागी हुँदै
काठमाण्डौं,माघ ३ । आज हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उक्त पार्टी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।
हिजो भएको सत्ता साझेदार दलको बैठकको सहमति अनुसार राप्रपाले उपप्रधानमन्त्री सहित तीन मन्त्री र एक राज्यमन्त्री पनि पाउने भएको छ ।
राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाउने भनिएको छ तर अन्तिम समयमा मन्त्रालयको नाम फेरबदल हुनसक्छ । अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बनेर सरकारमा जाने तयारीमा छन् ।
अन्य दुई मन्त्रीमा को कसलाई बनाउने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन ।
नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर दुवै दाबी गरेको बुझिएको छ ।
त्यस्तै राज्यमन्त्रीमा दिपकबहादुर सिंहको सम्भावना रहेको राप्रपाका एक नेताले बताए ।
राप्रपाले प्रत्यक्षबाट सासंद निर्वाचित भएकाहरूलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।
यता प्रतिनिधि सभाका ज्येष्ठ सदस्य तथा राप्रपाका सांसद पशुपति शमशेर राणाले उपराष्ट्रपति बन्ने इच्छा राखेतापनि उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेको छ ।
उपराष्ट्रपति नपाएकै कारण जनता समाजवादी पार्टी, नेपाल अहिले सरकारमा सहभागी नहुने भएको छ ।