हराएका बर्षहरु कथा समिक्षा : एलपी क्षेत्री (लेख)
काठमाडौं,भदौ १५ । पछिल्लो समय खोज पत्रकारितामा अब्बल मानिएकी पत्रकार बिद्या चापागाईंले प्रसारण गरेको “हराएका बर्षहरु”को भिडियोमा रहेका प्रकाश तामाङ पात्रका बारे विभिन्न टीका टिप्पणी भई रहेको छ ।
सामाजिक संजाल यसै बिषयले तातेको छ । कथाको शिर्षक र कथाका बारे बिशेष टिप्पणी गर्दै वरिष्ठ लेखक एल पी क्षेत्रीले आफ्नो फेसबुक वालमा बिचार ब्यक्त गर्नु भएको छ । वहाँको लेखलाई हामी साभार गरि सम्प्रेषण गरेका छौं ।
समीक्षा ‘हराएका वर्षहरू’ …
तानाबानाको प्रस्तुतिमा विद्या चापागाँई र कमल कुमारद्वारा निर्मित, ‘हराएका बर्षहरू’ राम्रो छ | हेरेँ तर आँसु नखसाली | मलाई सोधेको भए यसको शिर्षक ‘मिलनको हर्ष’ राख्न सुझाव दिने थिएँ | यसमा प्रकाशका हराएका वर्षको वृतान्तभन्दा मिलनको हर्षको कथा महत्वपूर्ण लाग्यो | हराएको थियो र त भेटियो | यस तर्कसँग सहमत हुन्न | यो सत्य घटनामात्र हो | शिर्षकले धेरै कुरा समेटेको हुन्छ |
प्रकाशले पोखेको एकान्तबास पीडा, स्वतन्त्रताको चाहना र पहिचानको खोजी (Isolation, desire of freedom and Identity) को वास्तविक घटनामा आधारित पटकथा निकै मन पर्यो र चुम उपत्यका देखि झापा तीन कट्ठेसम्मको यात्राका रमणीय दृश्यहरूले निकै लोभ्याए |
चुम भ्यालीको सौन्दर्यसँगै रमणीय दृश्यहरूमा ती पहाडहरू, स्याउले डाँडाहरू, पहाडी गोरेटाहरू, साना साना खोल्साहरू ? भीमकाय पहाडका चुचुराहरू अनि चट्टानहरूमा थुप्रिएका हिउँ, मनै छुने | ती आकाश छुँदै गरेका, बादलले घेरिएका हिमाल चुलीहरूले निर्मित रमणीय दृश्य, हृदयदेखि नै निस्क्यो वाह ! चुम भ्यालीको सौन्दर्य |
कुनै बेला आफै पुगौं पुगौं लाग्यो | चम उपत्यका, चौरी गोठ छेकोंग गाउँतिर निर्देशक एकछिन अझै अलमलिएको भए थप मजा आउने थियो |
प्रत्यक्षमा पुगेर चुमका यी स्वर्गीय दृश्यहरू हेर्न मलाई असम्भव छ तर प्रविधिको विकाश र ‘हेर्ने कथा’ समूहको प्रयासले हेर्न सम्भव बनाई दियो | म लाभान्वित भएँ | आभार |
विगत तीन महिनादेखि अर्को दुई महिनासम्मका लागि विदेशमा छु त म | एकछिन भए पनि प्रकाशलाई -झापा पुर्याउ यात्रा- नारायणगढ़मा रोकिँदा खुशी लाग्यो | मेरो नारायणगढ़, मेरो सुन्दर सहरलाई हेरें | खुसी लाग्यो |
निर्देशन, कथा वाचन, प्रस्तुति, फोटोग्राफी, राम्रो छ | पार्श्व सङ्गीत कर्णप्रिय छ |
एकछिन तुलनात्मक कुरा –
यस सत्य कथालाई Lost and found थीम अन्तर्गत राख्न सकिन्छ | प्रकाशको पीडालाई राम्रो पाठकले विभिन्न कोणबाट बुझ्न पर्छ | १९६६ मा एउटा हिन्दी फिल्म आएको थियो दिलिप कुमारको-
‘दिल दिया दर्द’ लिया | दिलीपकुमारको पीडा पक्ष पनि निकै मार्मिक छ | ५/६ वर्षको उमेरका प्रकाश हराएका थिए काठमान्डूबाट | काखे बालक शंकर हराएको थियो यात्रा गर्दै गरेको समुद्री जहाजको दुर्घटनामा | प्रकाश पुगे चिम उपत्यका एक साहूको नोकर भएर | शंकर पुग्यो एउटा धनाड्य ठाकुरको घर तर नोकर भएर बस्न पर्यो | दुवै कथाको अन्त्य happy ending मा टुंगिन्छ |
साहित्य अध्ययनमा तुलना गर्न सकिन्छ | ‘दिल दिया दर्द लिया’ को पनि अङ्ग्रेजी उपन्यासकार Emily Bronte को Wuthering Heights सँग गरिन्छ | मैले दिलिपकुमारको फिल्म १९७० मा हेरेको थिएँ | १९८५ मा एम.ए. ताका Wuthering Heights पढ्दा झस्केको थिएँ । अरे ! यसको कथा त कता कता ‘दिल दिया दर्द लिया’सँग मिल्दो रहेछ । मैले मेरा साथीहरूसँग कुरा गर्दा उनीहरूले नै भनेका थिए – Obviously, Dil Diya Dard Liya is partly a stolen story of Wuthering Heights.
नेपाली साहित्यमा पनि यस्ता चोरिएका धेरै कथा भेटिन्छन् । तर प्रकाशको कथा सत्य कथा हो।