कोरोनाले २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको मृत्यु
काठमाडौं,कार्तिक २३ । झापाको शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनको कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो।
त्यसपछि अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ। मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन। शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।
त्यस्तै बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं. १० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारकोक्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।