दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीति एल्बम ‘सेवान्ने’ सार्वजनिक
काठमाडौँ,चैत २१ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक भएको छ । घट्टेकुलोस्थित पाना क्याफेमा सम्पन्न एल्बम सार्वजनिकीकरण कार्यक्रममा एल्बमको एउटा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । एल्बममा सातवटा गीत समावेश छन् ।
एल्बमभित्र समावेश तीन गीतमा राजन मुकारुङको शब्द रहेको छ भने दुई गीतमा हाङ्युग अज्ञातको शब्द छ । एल्बममा दुई गीतलाई महिला र पुरुष दुवै संस्करणको स्वरमा समावेश गरिएको छ ।
एल्बमका दुई गीत, राजन मुकारुङको शब्दमा ‘हुरुक्कै भएँ म’ र हाङ्युग अज्ञातको शब्दमा ‘मैले फूललाई माया गरेँ’लाई राजेशपायल राईले स्वर दिएका छन् । मुकारुङकै शब्द रहेको ‘मनको मैलो’लाई सुनिता थेगिमले र ‘भरोसा छैन कसैको’लाई अशोक मुकारुङले स्वर दिएका छन् । हाङ्युग अज्ञातको शब्द रहेको ‘औंशीमा’लाई झुमा लिम्बुले स्वर दिएकी छिन् । ‘मनको मैलो’को पुरुष संस्करणमा ज्वाला राईले स्वर दिएका छन् भने ‘मैले फूललाई माया गरेँ’लाई मिलन नेवारले महिला संस्करणमा गाएकी छिन् ।
गीतिएल्बम ‘सेवान्ने’भित्र समावेश गीत ‘मैले फूललाई माया गरेँ’को म्युजिक भिडियो पनि शनिबारै सार्वजनिक भएको हो । विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा दिवाहाङ बान्तवा र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।
युट्युबमा अघिल्लो वर्ष नै सार्वजनिक भएको गीत ‘हुरुक्कै भएँ म’लाई हालसम्म सत्ताइस लाखपटक हेरिसकिएको छ ।
बान्तवा भाषाको शब्द ‘सेवान्ने’को अर्थ ‘हार्दिक नमस्कार’ हुन्छ ।