झलनाथ खनालको गृह जिल्ला पुगेर ओलीले भने, ‘एमालेले टाँसिदिएका जुँगा खौरनु पर्दैन ?’
काठमाण्डौ,चैत ७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले इलाम पुगेका छन् । उनी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृह जिल्ला पुगेका हुन् । उनले तीन वर्षमा आफू नेतृवको सरकारको कामलाई देखेर दुनियाँ अचम्मित परेको दावी गरेका छन् । इलामको फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई एउटै कुचोले बढार्ने चेतावनी दिएका छन् । त्यसका लागि एमाले समय खेर नफाल्ने बताएका छन्।
हामीले तीन वर्षमा विकास गर्न सकिने रहेछ भन्ने दखाएका छौँ। कोभिड(१९ मा जनताको जिउधनको रक्षा गरेको विषयलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ। तीन वर्षको यति छोटो समयमा यति धेरै काम गरेको देखेर दुनियाँ चकित परेको छ,उनले भने। एमालेको सफलता देखेर केही शक्तिहरु षड्यन्त्रमा लागेको ओलीको भनाइ छ।
एमालेले लगाइदिएको सांसद र मन्त्रीको फुली बोकेर केही नेताहरु हिँडेको भन्दै ओलीले आक्रोश समेत व्यक्त गरे। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै उनले एमालेले लगाएको जुँगामा ताउ लगाएर बसेकाले जथाभावी बोल्न नहुने बताएका हुन्। शनिवार खनालले निर्वाचनमा ओलीको बाकस जिरो बनाउनुपर्ने बताएका थिए।
खनालकै गृह जिल्ला पुगेर ओलीले भने, ‘एमालेले लगाएको सांसदको फुली बोकेर ? अनि फुकाल्नुपर्दैन त्यो ? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला ?’, ओलीले भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’
अहिले अर्कोथरी शक्तिहरु एमालेलाई बहुमत ल्याउनबाट रोक्न भनेर लागेका छन्। एमालेका कार्यकर्ता सचेत भइसकेका छन्। एमालेलाई अलिकति टोकी हेर्न नसोचे हुन्छ। बैशाख ३० गते एमालेले देशबाट पाँच दललाई एउटै कुचाले बढार्नेछ, उनले भने।