आज १५ औं गणतन्त्र दिवस देशभर मनाईदै

काठमाण्डौं,जेठ १५ । आज १५ औँ गणतन्त्र दिवस देशभर मनाइदै छ । भर्खरै स्थानीय चुनाव मार्फत जन निर्वाचीत उम्मेदवारहरूको सहभागिता एवं उपस्थितिमा अहिले सङ्घीय गणतान्त्रिक नेपालले आफ्नो शासनको डोर आशा फेरि सँगालेको पनि छ ।

आजको दिन नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ । टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ । साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभात फेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदै छ । त्यसै गरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दीपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । यसैबिच गणतन्त्र दिवसको उपलक्ष्यमा छिमेकी मुलुकहरू चीन र भारत सहित अन्य मुलुकका प्रमुखहरूले शुभकामना दिँदै नेपालमा शान्ति र समृद्धिको नयाँ ढोका खोलिने विश्वास गरेका छन् । गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रूपमा मनाइन्छ । यसै सन्दर्भमा बिभिन्न राजनितिक दलका नेताहरुले आफ्नो सामाजिक संजाल फेसबुक र टुइटरमा शुभकामना पोस्ट गर्नु भएको छ ।

पुर्व प्रधानमन्त्री – डा बाबुराम भट्टराई – जनताको वलिदानीपूर्ण जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त गणतन्त्र दिवस २०७९को उपलक्ष्यमा देश/विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना!हजारौं बर्षदेखिको सामन्ती दासताको प्रतीक राजतन्त्रको अन्त्य गरेर नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको दिनमा सबैले गर्व गरौं!

बिमलेन्द्र निधि ( नेता नेपाली कांग्रेस) –  आज गणतन्त्र दिवस ! देश विदेशमा रहनु भएका समस्त दिदिबहिनी दाजुभाइ र ईष्ट मित्रहरुलाई हार्दिक बधाई एवं सुख शान्ति र प्रगतिको शुभकामना !! संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन गर्दै जनता र देशको सर्वांगिण विकासकालागि आ-आफ्नो ठाउँबाट जुटौं !!!

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।
प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरेका छन् । विसं २०६५ जेठ १५ गते सं विधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।

उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताएका छन् ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv